अमेरिकामा आफ्नै परिवारका तीन सदस्यको हत्या गर्ने नेपाली पुरुषको प्रहरी कारबाहीमा मृत्यु

Breaking Nepal

मंगलबार ,फाल्गुन १२ , २०८२ १२:२३

काठमाडौं/ भर्जिनिया / अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा नेपाली मूलका एक पुरुषले आफ्नै परिवारका तीन सदस्यमाथि खुँडा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

सोमबार बिहान करिब ५ बजे मान्टुआ नजिक पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको एक अपार्टमेन्टमा भएको उक्त घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ। प्रारम्भिक विवरणअनुसार करिब ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ५१ वर्षीया पत्नी बिन्दा थापा, ३१ वर्षीया छोरी ममता थापा तथा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापामाथि घुमाउरो खुँडा प्रहार गरेका थिए । पत्नी र छोरीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले थापा आफ्ना ज्वाइँमाथि खुँडा प्रहार गरिरहेको अवस्थामा भेटिएको फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पटक–पटक हतियार फाल्न निर्देशन दिँदा पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए ।

डेभिसका अनुसार प्रहरीको गोली लाग्दा ज्वाइँको ज्यान जोखिमपूर्ण अवस्थामा थियो। प्रहरीले तत्कालै संदिग्धलाई सीपीआर दिए पनि घटनास्थलमै उनको मृत्यु घोषणा गरिएको थियो । ज्वाइँको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीका अनुसार अपार्टमेन्टभित्र एक वर्षको शिशु समेत उपस्थित थियो तर उसलाई कुनै शारीरिक क्षति पुगेन । शिशुलाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ ।

ज्वाइँ बाहिर पार्किङ क्षेत्रमा कारबाट हिउँ पन्छाइरहेका बेला अपार्टमेन्टभित्रबाट होहल्ला सुनेपछि ९११ मा फोन गरी उनी भित्र प्रवेश गरेका थिए । त्यही क्रममा उनले रगतले लतपतिएको दृश्य देखेका थिए । नजिकैको अर्को भवनमा रहेका एक व्यक्तिले पनि घरेलु विवादको आशंकामा ९११ मा सम्पर्क गरेका थिए ।

प्रहरीले घटनास्थलबाट करिब १० इन्च लामो ‘मासु काट्ने हतियार’ जस्तो देखिने घुमाउरो खुँडा बरामद गरेको जनाएको छ ।

प्रहरी प्रमुख डेभिसका अनुसार यसअघि उक्त घरमा घरेलु हिंसासम्बन्धी कुनै उजुरी वा प्रहरी बोलाइएको अभिलेख फेला परेको छैन । “उनीहरूको जीवनमा कस्तो प्रकारको तनाव वा द्वन्द्व चलिरहेको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ,” उनले भने, “तर आफ्नै परिवारमाथि यस्तो अमानवीय आक्रमण किन भयो भन्ने प्रश्न गम्भीर छ ।”

कार्यकारी कमान्ड टोलीले समीक्षा गरेको बडी–वर्न क्यामेरा फुटेजमा थप मानवीय क्षति रोक्न प्रोटोकलअनुसार बल प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ।

(स्थानीय सञ्चार माध्यमहरूको सहयोगमा)