मोरङ-६ का लागि महत्वपूर्ण अवसर: डा. शेखर कोइरालाको संयमित र सन्तुलित नेतृत्व

Breaking Nepal

pen
लोकराज अवस्थी
आइतबार ,फाल्गुन १७ , २०८२ १६:०६

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सुशासन, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायीशासनको मागगर्दै सडकमा उत्रिएकाथिए । जसले देशलाई नै नयाँमोडमा पुर्यायो । राजनीतिकदलहरूलाई आत्मसमीक्षा गर्न बाध्यबनायो । त्यसपछिको राजनीतिक उतारचढावका बीच घोषणा भएको निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रियाहोइन । यो लोकतन्त्रप्रतिको जनविश्वास पुनस्र्थापित गर्ने ऐतिहासिक अवसर हो । आज देश राजनीतिक अस्थिरता, आर्थिक मन्दी, बेरोजगारी, मौलाउँदो भ्रष्टाचार र नागरिक निराशाबाट गुज्रिरहेको छ । यस्तो जटिल परिस्थितिमा मतदाताले भावनात्मक आवेगभन्दा विवेकपूर्ण निर्णय लिनु अत्यावश्यक छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास हेर्दा नेपाली कांग्रेसको भूमिका अग्रणी रहँदै आएको छ ।

प्रजातन्त्रको स्थापना, बहुदलीय व्यवस्थाको पुनस्र्थापना र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कार्यसम्म कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको छ । खुला अर्थतन्त्रको अभ्यास, संविधान निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको विस्तार तथा नागरिक स्वतन्त्रताको संरक्षणमा कांग्रेसको ऐतिहासिक योगदान रहेको छ । तर, समयसँगै पार्टीभित्र वैचारिक अस्पष्टता, आन्तरिक लोकतन्त्रको कमजोरी र पारदर्शितामाथि प्रश्न उठेका छन् । यही चुनौतीकाबीच पार्टीलाई पुनःजनविश्वासको केन्द्रमा पु¥याउन सक्षम, संयमित र नैतिक नेतृत्वको आवश्यकता छ, जुन गुण डा. शेखर कोइरालामा देखिन्छ ।

डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६ बाट उम्मेदवार हुनु मोरङबासीका लागि गर्वको कुरा हो । यो आत्मसम्मान र प्रतिष्ठाको विषय पनि हो । किन कि कोइराला मोरङबाट उम्मेद्वार भएपनि कुरा राष्ट्रिय नेतृत्वको हो । मोरङ औद्योगिक, कृषि र शैक्षिक दृष्टिले महत्वपूर्ण जिल्ला हो । त्यहाँको विकासको अनुभवलाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्न सक्ने क्षमता उनीमा छ । कृषिआधुनिकीकरण, उद्योग पुनरुत्थान, शिक्षा सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार र प्रविधिमैत्री शासन प्रणाली विकासका लागि दीर्घकालीन सोच आवश्यक छ । त्यस्तो सन्तुलित दृष्टि र अनुभव भएका डा. कोइराला सबैका भरोशायोग्य नेता हुन् ।

राष्ट्रिय राजनीतिमा डा. कोइराला परिपक्व, सन्तुलित र समन्वयकारी नेताका रूपमा परिचित छन् । उनले राजनीतिक प्रतिस्पर्धालाई हारजीत मात्र नभइ लोकतान्त्रिक प्रतिस्पर्धाको रूपमा लिइएको छ । असहमति हुँदा पनि शालीन ढंगले आफ्नो धारणा राख्ने, विधि र विधानको पालना गर्न आग्रह गर्ने र सामूहिक निर्णयलाई प्राथमिकता दिने उनको शैलीले डा. कोइरालालाई अन्य नेताभन्दा फरक बनाएको छ । नेपाली कांग्रेसको वैचारिक आधार प्रजातान्त्रिक समाजवाद हो । जसको मार्गदर्शन बीपी कोइरालाले गर्नुभएको थियो । बीपीले देखाएको लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । डा. शेखर कोइरालाले पार्टीलाई त्यही बीपीपथमा डो¥याउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र विधिसम्मत महाधिवेशन सम्पन्न गर्न निरन्तर आवाज उठाउँदै आएका छन् । उनको धारणा स्पष्ट छ, पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र पनि बलियो हुन सक्दैन ।

देशको वर्तमान समस्या केवल सरकार परिवर्तनले मात्रै समाधान हुँदैन । राज्य सञ्चालनको पद्धति वा संस्कृतिको सुधार आवश्यक छ । सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सेवाप्रवाहलाई जनमुखी बनाउन संरचनागत सुधार जरुरी छ । डा. कोइरालाले स्थानीय तहदेखि केन्द्रसम्म पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको बताउँदै आइरहेका छन् । उनले बिचौलियाको प्रभाव अन्त्य, सार्वजनिक पदमा बस्नेहरूको नैतिक आचरण र नागरिकमुखी सेवाप्रवाहलाई प्राथमिकता दिनुपर्ने धाराणा बारम्बार राख्दै आएका छन् । जेनजी आन्दोलनले उठाएका माग डिजिटल स्वतन्त्रता, पारदर्शिता र अवसरको समानताप्रति पनि उनले सहानुभूतिपूर्ण र संवादमुखी दृष्टिकोण अपनाएका छन् । युवा र अग्रज पुस्ताबीच ‘सेतु’ बन्न सक्ने नेतृत्व आजको आवश्यकता हो, र त्यो भूमिकामा डा. कोइराला अब्बल देखिन्छन् ।

आज नेपाली समाज विविधता र विभाजनबीच उभिएको छ । जात, धर्म, भाषा, क्षेत्र, वर्ण, लिङ्ग, भेग र विचारका आधारमा बढ्दो ध्रुवीकरणले सहकार्यको संस्कृतिलाई कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा टकराव होइन, सहमति निर्माण गर्ने नेतृत्व आवश्यक हुन्छ । डा. शेखर कोइरालाको सरल जीवनशैली, संयमित व्यवहार र स्पष्ट विचारले उनलाई विश्वासयोग्य बनाएको छ । उनी सस्तो लोकप्रियताको होडमा तडकभडक प्रदर्शन गर्नेभन्दा पनि नीतिगत बहस र संगठन सुदृढीकरणमा ध्यान दिने नेताको रुपमा परिचित छन् । यही कारण उनीप्रति पार्टीभित्र र बाहिर दुवैतर्फ भरोसाको खम्बा मानिन्छ ।

निर्वाचनको यो क्षणमा मतदाताले केवल उम्मेदवार होइन, भविष्यको दिशा चयन गरिरहेका छन् । लोकतन्त्र जोगाउन, सुशासन स्थापित गर्न, युवाको आकांक्षा सम्बोधन गर्न र राष्ट्रिय एकता सुदृढ गर्न सक्षम नेतृत्व रोज्नु आजको ऐतिहासिक दायित्व र कर्तव्य हो । डा. शेखर कोइरालाको नेतृत्वले नेपाली कांग्रेसलाई पुनः वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र नैतिक आधार प्रदान गर्न सक्छ भन्ने विश्वास आमजनतामा बढ्दै गएको छ । त्यसैले देश र लोकतन्त्रको रक्षा, स्थिरता र समृद्धिको यात्रालाई सुनिश्चित गर्न शालीन, समन्वयकारी र भरोसायोग्य नेतृत्व छनोटको लागि डा. शेखर कोइरालालाई मत दिनु आजको आवश्यकता हो ।