स्रष्टाको कलमबाट समाज रूपान्तरणको बहस, इटहरीमा विचार गोष्ठी र कविता वाचन सम्पन्न

Breaking Nepal

बिहीबार ,बैशाख १७ , २०८३ १०:२७

इटहरी / समाज रूपान्तरणमा स्रष्टाको भूमिकाबारे केन्द्रित विचार गोष्ठी तथा कविता वाचन कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । नेपाली लेखक सङ्घ कोशी प्रदेश समितिले राष्ट्रिय लेखक दिवसको अवसर पारेर २०८३ वैशाख १६ गते कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम सङ्घका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरूले साहित्य र सिर्जनाले समाज परिवर्तनमा निरन्तर प्रभाव पार्दै आएको धारणा राखे ।

कवि मनु मन्जिलले सिर्जनात्मक कर्मलाई उमेरले सीमित गर्न नसक्ने बताए । उनका अनुसार स्रष्टा जीवनभर समाज परिवर्तनको अभियानमै सक्रिय रहन्छ । प्रा.डा. गोपाल भण्डारीले भानुभक्तकालदेखि हालसम्मका साहित्यिक कृतिहरू समाज रूपान्तरणका मार्गदर्शक दस्तावेजका रूपमा रहेको उल्लेख गरे ।

आयोजक समितिका संयोजक कृष्ण अधिकारीले स्रष्टाको कलमले सामाजिक चेतना जगाउने काम गर्ने बताए । प्रा.डा. बद्री विशाल पोखरेलले स्रष्टालाई सामाजिक चेतनाको संवाहकका रूपमा व्याख्या गरे भने कवि अनिल पौडेलले स्रष्टाको योगदान निरन्तर र दीर्घकालीन हुने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ घिमिरेले लेखकको कलमलाई परिवर्तनको प्रभावकारी औजारका रूपमा चित्रण गरे ।

कार्यक्रमअन्तर्गत आयोजित कविता वाचन सत्रमा लक्ष्मी रायमाझी, बद्री भिखारी, टीका आत्रेय, एल.पी. पराजुली, विनोद विवश, ऋषिराज गौतम, प्रकाश विमील, हेमन्त गौतम, बासु पोखरेल, विदुर ढुङ्गेल, मुक्ति पोखरेल, भीष्म काफ्ले, देवान किराँती, लीलानाथ सिलवाल, रमेन्द्र कोइराला, टंक राजवंशी, पुष्पा सायरा, पूजा बाहार, मनु मन्जिल, बद्री विशाल पोखरेल र अनिल पौडेलले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्रष्टाको भूमिका केवल साहित्य सिर्जनामा सीमित नरही समाज परिवर्तनको बहस र चेतना विस्तारसँग प्रत्यक्ष जोडिएको निष्कर्ष निकालिएको थियो ।