Breaking Nepal

खबर खरमा लागेको आगो जसरी फैलियो–
बालेन्द्रगज बहुलायो ।
बहुलाएको बालेन्द्रगज बाग्मतीकिनारैकिनार
सुकुमवासी बस्तीमा पस्यो ।
मातातीर्थ औँसीको दिन
बहुलाएको बालेन्द्रगजले
पाथीभरा माताको मन्दिर
टाउकोले धकेलेर भत्कायो
सुँडले तानेर शिवालयको गजुर
भुइँमा लछार्यो र लात्तले कुल्चियो ।
शनिबार चर्च पसेर
लोककल्याणको निमित्त
प्रार्थना गरिरहेका अनुयायीहरू दप्कायो
प्रार्थना–पाटी किचिमिची पारेर
विनाश यात्रामा लस्कियो ।
मदमत्त बालेन्द्रगज
वैशाख शुक्ल पूर्णिमाको साइत रोजेर
साङ्गे छोइलिङ गुम्बामा पस्यो
बुद्ध जन्मेको देशमा
बुद्ध जयन्तीका दिन
बुद्धको प्रार्थना–केन्द्र तहसनहस पार्यो ।
शुक्रबार नमाज पढ्ने तयारी गरिरहेका
मानिसहरू लखेट्यो
एकाबिहानै गरिबलाई लखेटेर
बर्खाको बाग्मतीमा हामफाल्न बाध्य बनायो ।
मदान्ध बालेन्द्रगजले
मन्दिर चिनेन
चर्च भनेन
गुम्बाको आग्रह सुनेन
बरु सामुदायिक विद्यालय लडायो
भुइँमा असरल्ल पारेर
नैतिक शिक्षाको किताबमा थस्यायो ।
बहुलाए पनि बालेन्द्रगजले
कसैलाई विभेद नगरेकोमा
रमितेको एउटा तप्का खुसी नै देखिए
सिमसिम पानी परिरहेको रात
सीमान्त तप्काका बहुमत मानिसले सम्झिए
चित्रवनको ध्रुबे हात्ती
महाप्रभाकिनारको मकुना आतङ्क
जो जङ्गल छेउछाउ भेटिने
मान्छे मार्न पल्केका थिए
तुलना गरे बाग्मतीकिनारैकिनार मान्छे खाेज्दै आएकाे,
बालेन्द्रगजको बिगबिगी ।
भत्काएको सघन बस्तीमा एक ठाउँ भेटियो
छ्यालब्याल छुवागुँड
गुँड चाट्न पाएर बालेन्द्रगज रमायो ।
प्रतिकारमा पीडितहरूले राँको बाले,
तीर हाने, शङ्ख फुके, छारो उडाए
विद्रोहको छनक पाएर बालेन्द्रगज रिसायो ।
बालेन्द्रगज रमाए पनि
बालेन्द्रगज रिसाए पनि
विनाश सीमान्त बस्तीको भयो
बिमाख किनारीकृत मान्छेको भयो ।