Breaking Nepal

विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिताअघि जिल्लास्तरीय छनोट खेलहरू जेठ १५ र १६ गतेभित्र सम्पन्न गरिने भएको छ ।
विराटनगरस्थित बोर्डको कार्यालयमा बिहीबार सम्पन्न बोर्डको ३२औँ बैठकले छोटो समयमै प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्ने कार्यतालिका तय गरेको हो । बोर्डका अध्यक्ष तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको अध्यक्षतामा बसेको बैठकमा नव नियुक्त पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकले प्रदेशस्तरीय प्रतियोगिता जेठ १८ गतेभित्र सम्पन्न गरी सोही दिन राष्ट्रियस्तरको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रमसमेत गर्ने निर्णय गरेको छ ।
बोर्डका सदस्य टिकाराम पुरीका अनुसार बैठकमा प्रतियोगिता व्यवस्थापनसँगै बजेट संशोधन, गणतन्त्र दिवसका कार्यक्रममा बोर्डको सहभागिता तथा आगामी खेलकुद गतिविधिका विषयमा समेत छलफल गरिएको थियो ।
कोशी प्रदेश खेलकुद विकास बोर्ड लामो समयदेखि पदाधिकारीविहीन अवस्थामा रहेको थियो । प्रदेश सरकारले जेठ १३ गते मन्त्रीस्तरीय निर्णयमार्फत बोर्डमा दुई उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू गरी ११ जना पदाधिकारी नियुक्त गरेपछि बोर्डले गतिविधिलाई तीव्रता दिएको हो ।
नवनियुक्त पदाधिकारीसहित बसेको पहिलो चरणको सक्रिय बैठकले राष्ट्रपति रनिङ शिल्डलाई प्राथमिकतामा राख्दै तयारीलाई तीव्र बनाउने संकेत दिएको छ ।