Breaking Nepal

विराटनगर / छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार घरेलु टोली टिडब्लूसीवाई विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच प्रतिस्पर्धा हुने भएको छ । जुटमिल खेलमैदानमा दिउँसो ४ बजे हुने फाइनल खेलमा दुवै टोली पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
मिल्स गोल्डकपको इतिहासमा दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । त्यसैले यसपटकको फाइनलले प्रतियोगितालाई नयाँ च्याम्पियन दिने निश्चित भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले क्वार्टरफाइनलमा साविक विजेता लेटाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसपछि सेमिफाइनलमा अर्को घरेलु टोली लालीगुराँस फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै टोलीले उपाधि नजिकको दूरी तय गर्यो ।
यता, टिडब्लूसीवाई विराटनगरले क्वार्टरफाइनलमा विभागीय टोली एपीएफ पकलीलाई २–१ ले पराजित गर्दै आफ्नो चुनौती प्रस्तुत गरेको थियो । सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै घरेलु टोलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
फाइनलअघि दुवै टोलीका प्रशिक्षकले उपाधिप्रति आत्मविश्वास व्यक्त गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रशिक्षक दीपेन्द्र पौडेलले पहिलो पटक फाइनल पुगेको टोली ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने बताए । नियमित खेलाडी मनोज सुब्बा दोहोरो पहेँलो कार्डका कारण फाइनलबाट बाहिरिए पनि टोलीको सन्तुलन कायम रहने उनको दाबी छ ।
घरेलु टोली टिडब्लूसीवाईका प्रशिक्षक वीरु गुरुङले घरेलु मैदान र समर्थकको साथ टोलीको मुख्य बल भएको बताए । क्वार्टरफाइनल र सेमिफाइनलमा प्रयोग गरिएको विजयी संयोजनलाई निरन्तरता दिँदै उपाधि घरेलु मैदानमै राख्ने लक्ष्य रहेको उनले बताए ।
प्रतियोगिताको विजेताले २ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार २०७७ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको यस संस्करणमा आठ टोली सहभागी थिए ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार १०० रुपैयाँ तथा अन्य विधाका विजेतालाई ३ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलिभिजन पुरस्कारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ ।