Breaking Nepal

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।