मधेस प्रदेशको ४१.१३ अर्ब बजेटमाथि आजदेखि छलफल, मन्त्रालयगत विनियोजनमा केन्द्रित हुनेछ प्रदेशसभा

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १०:४४

जनकपुरधाम / मधेस प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको औपचारिक छलफल आजदेखि सुरु हुँदैछ। प्रदेश सरकारले प्रस्तुत गरेको ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेटमा समेटिएका मन्त्रालयगत विनियोजनका शीर्षकमाथि प्रदेशसभामा विस्तृत बहस हुने भएको हो।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको बजेटमाथि विषयगत मन्त्रालयका आधारमा छलफल प्रारम्भ गरिनेछ।

मधेस प्रदेश सरकारले आगामी आवका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि आधुनिकीकरण तथा नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।

प्रदेश सरकारले उत्पादनमुखी अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सामाजिक क्षेत्रको गुणस्तर अभिवृद्धिलाई बजेटको मुख्य लक्ष्यका रूपमा अघि सारेको छ। प्रदेशसभामा हुने छलफलपछि सदस्यहरूले उठाएका सुझाव र संशोधनका आधारमा विनियोजन विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्नेछ।