झापामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय किशोरको मृत्यु, तीव्र गति प्रारम्भिक कारण

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०८:४२

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ रमिते डाँडास्थित भित्री पक्की सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ।

मृतक शिवसताक्षी–११ शेर्माटोलका रुविन राई रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब २:३० बजे प्र १–०१–०१६ प ६०६४ नम्बरको मोटरसाइकल चलाइरहेका रुविनको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि साथीहरूले उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पुगेलगत्तै चिकित्सकले बिहान करिब ४:०५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनाका बेला मोटरसाइकलमा पछाडि शिवसताक्षी–८ का १६ वर्षीय पुजन अधिकारी सवार थिए। घटनापछि प्रहरीले पुजन अधिकारीसहित घाइतेलाई अस्पताल पुर्‍याउन प्रयोग गरिएको मोटरसाइकलका चालक १५ वर्षीय लालबहादुर (लावाहाङ) लिम्बू, १६ वर्षीय ईश्वर राई तथा विशाल तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मृतकसहित मोटरसाइकल चलाइरहेका किशोरहरूसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन। प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।