बिर्तामोडको होटलबाट ३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०९:१७

झापा । झापाको बिर्तामोडस्थित एक होटलबाट ३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ करिब ५ बजे बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलको कोठा नम्बर ४०४ मा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले छापा मारेको थियो।

छापाका क्रममा होटलमा बसिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामथान पञ्चायतका ३४ वर्षीय कमल बर्मनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट प्लास्टिकसहित ३३ ग्राम ५७० मिलिग्राम तथा प्लास्टिक हटाउँदा ३१ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

बरामद लागूऔषधसहित बर्मनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको तथा लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिको खोजीसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।