बाढी–पहिरोको जोखिम बढेपछि सुरक्षा निकाय अलर्ट, कोशी ब्यारेजमा विशेष निगरानी

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ ०७:५९

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा जलसतह बढेर बाढीको जोखिम देखिएमा कोशी ब्यारेजका ढोका आवश्यकताअनुसार क्रमशः खोलिने तयारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले हाल देशका २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिँदै नदी तथा जलप्रवाहको निरन्तर निगरानी भइरहेको बताए।

प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी सम्भावित उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको छ। साथै, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न, यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र चेतावनीको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।