Breaking Nepal

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित एक मन्दिरबाट कलश, घण्टीलगायतका सामग्री चोरी गरेर भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राति कानेपोखरी–५ स्थित कानेपोखरी चोकमा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेका उनीहरूमाथि सोधपुछ गर्दा सोही वडाको सावायोहाङ किराँत महिम मन्दिरमा चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ पर्नेमा उर्लाबारी–७ का दिवश दर्जी (३१), विवेक विश्वकर्मा (२६) र अर्जुन दर्जी (१८) रहेका छन्। उनीहरूलाई अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट स्कुटरसहित ६० थान तामाका कलश, १२ थान घण्टी, ४६ थान तामाका दियो, तीन थान तामाका थाली, नगद र सिक्का, साथै ताला फुटाउन प्रयोग गरिने औजारसमेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू यसअघि पनि यस्तै प्रकृतिका चोरी घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ।