सर्लाहीमा ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवक आठ घण्टापछि सकुशल उद्धार

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ १०:३५

सर्लाही — सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मी र परिवारको संयुक्त प्रयासपछि सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका युवक गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन हुन्। उनी सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हुसैन सम्भवतः शनिबार राति नै टावरमा चढेका थिए। आइतबार बिहान करिब ४ बजे उनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमा रहेको जानकारी दिएपछि घटनाबारे प्रहरीलाई सूचना पुगेको थियो।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार अभियान सुरु गरेको थियो। हुसैनलाई सुरक्षित रूपमा तल झार्न उनका बुवा र दाजुलाई पनि घटनास्थलमा बोलाई टेलिफोनमार्फत निरन्तर संवाद गराइएको थियो।

परिवारका सदस्य र सुरक्षाकर्मीको लामो सम्झाइ–बुझाइपछि हुसैन अन्ततः आफैँ टावरबाट सुरक्षित रूपमा तल ओर्लिएका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। हुसैन टावरमा किन चढेका थिए भन्ने विषय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।