झापा प्रहरीले एक वर्षमा ५ करोडभन्दा बढीका अवैध सामान बरामद

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ १०:४२

भद्रपुर — जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा तस्करी तथा भन्सार छलीविरुद्धको अभियानअन्तर्गत रु पाँच करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० मूल्य बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन्।

त्यसैगरी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत्ताकपडा, रु ५२ लाख २४ हजार ५०० बराबरका किराना सामग्री, रु ८९ लाख ८७ हजार ४० बराबरका बिडी, रु १२ लाख ६५ हजार ५०० बराबरका सुर्तीजन्य पदार्थ, रु २१ लाख ५७ हजार ९३० बराबरका विद्युतीय पार्टपुर्जा, रु तीन लाख २४ हजार ८० बराबरका कस्मेटिक सामग्री तथा रु एक करोड १४ लाख ७३ हजार ५६४ बराबरका अन्य विभिन्न अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

अवैध सामान ओसारपसारमा प्रयोग भएका २९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ भने सात जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।