Breaking Nepal

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री र दिगो बनाउन नयाँ व्यवस्था लागू गरेको छ। संस्थानले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी दूध आपूर्ति गर्ने सबै दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क तथा नवीकरण गर्न आग्रह गरेको हो।
डीडीसीको केन्द्रीय कार्यालय, लैनचौरले जारी गरेको सूचनाअनुसार संस्थानसँग निरन्तर दूध कारोबार गर्न चाहने सहकारी संस्था र निजी फार्मले तोकिएको समयसीमाभित्र नजिकको आयोजना कार्यालय वा चिस्यान केन्द्र (चिलिङ सेन्टर) मा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
संस्थानका अनुसार दूध संकलन प्रणालीलाई आधुनिक, अनुमानयोग्य र प्रभावकारी बनाउन यो व्यवस्था लागू गरिएको हो। तोकिएको समयभित्र सम्पर्क वा नवीकरण नगर्ने सहकारी तथा निजी फार्मबाट दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारिएको छ।
सूचनामा भनिएको छ, “२०८३ साल साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य हुने छैन।” यसअनुसार समयसीमा नाघेपछि सम्पर्कमा नआएका उत्पादकको दूध संकलनसमेत रोक्न सकिने संकेत गरिएको छ।
करिब ५७ वर्षदेखि देशभरका किसान, सहकारी संस्था र निजी फार्मबाट दूध संकलन गर्दै आएको डीडीसीले नयाँ व्यवस्थाले दूध संकलन प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरेको छ।