Breaking Nepal

काठमाडौं : देशभर मनसुन सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। अहिले हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिनभर हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना छ।
कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
निरन्तर वर्षाका कारण पहिरो, बाढी, डुबान र चट्याङको जोखिम बढ्न सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।