देवानगञ्ज झडपमा गोली लागेर एक युवकको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १६ जना घाइते

Breaking Nepal

सोमबार ,साउन ११ , २०८३ ०८:५८

विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा भएको घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित १६ जना घाइते भएका छन्। घाइतेमध्ये सशस्त्र प्रहरीले चलाएको गोली लागेका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपका क्रममा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका थिए। गम्भीर घाइते भएका ओमप्रकाश मेहतालाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनामा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई समूहबीच सुरु भएको विवाद झडपमा परिणत भई अवस्था हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको छ भने प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव उपचाररत रहेका छन्।

घटनापछि देवानगञ्ज क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।