कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ ०९:१४

कपिलवस्तु– कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको शिवपुरी लक्जरी कोच प्रालिको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका निवासी ४२ वर्षीय हरिसिंह महरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा चितवनका गरी २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको टाउको, हात, खुट्टा, छाती र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको छ।

बसमा चालकसहित ४६ जना सवार रहेका थिए। दुर्घटनापछि सकुशल रहेका २४ जना यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले हटाएपछि केही समय अवरुद्ध भएको हुलाकी सडक दुवैतर्फ पुनः सञ्चालनमा आएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।