Breaking Nepal

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा भलबाढी आउने, रुख ढलेर वनपथ अवरुद्ध हुने तथा कच्ची सडक बिग्रिने जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सफारी सेवा स्थगित गरिएको हो।
उनका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि पनि उपयुक्त समय भएकाले निकुञ्जभित्रको गतिविधि सीमित गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष मनसुनको समयमा जङ्गल सफारी बन्द गर्दै आएको छ।
निकुञ्जले मौसमको अवस्था अनुकूल भएपछि, प्रायः दसैँ आसपासबाट पुनः सफारी सञ्चालन गर्ने परम्परा रहेको जनाएको छ।
यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने यथावत् रहने निकुञ्जले जनाएको छ। चितवनको सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न क्षेत्रबाट पर्यटक जीप सफारीमार्फत वन्यजन्तु अवलोकन गर्न जाने गर्दछन्।