आज चार प्रदेशमा अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिम

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ ०७:४३

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आइतबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने र विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र रातिको समयमा पनि अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

महाशाखाले विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना औँल्याउँदै बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी दिएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनका सूचना पालना गर्न आग्रह गरिएको छ।