Breaking Nepal

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै पूर्वी नेपालको व्यापार तथा उद्योग क्षेत्रमा नयाँ सम्भावना खुलेको छ।
शुक्रबार कोलकाताबाट प्रस्थान गरेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल आइतबार विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ। रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ECTS) जडान गरिएको छ, जसले ढुवानी प्रक्रिया सुरक्षित, पारदर्शी र निगरानीयोग्य बनाउनेछ।
कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा गरेका हुन्।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार सेवा नियमित भएपछि उद्योगी–व्यवसायीले आयात प्रक्रियामा समय र लागत दुवै बचत गर्न सक्नेछन्। पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर सिधै विराटनगर ल्याउन सकिनेछ।
यसअघि वीरगञ्ज नाकामा मात्र केन्द्रित रहेको यस्तो सुविधा अब विराटनगरसम्म विस्तार भएकाले सडकमार्गमा निर्भरता घट्ने, ढुवानी खर्च कम हुने, बन्दरगाहमा हुने ढिलाइ तथा अतिरिक्त शुल्क घट्ने र सामान छिटो गन्तव्यमा पुग्ने अपेक्षा गरिएको छ।
कार्गो रेल सेवाको नियमित सञ्चालनले पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात तथा समग्र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।