विराटनगर भन्सारले उठायो ३५ अर्ब ३६ करोड, लक्ष्य अझै अपूरो

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ ०९:११

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा राजश्व असुली दरमा सुधार गरे पनि निर्धारित लक्ष्य भने पूरा गर्न सकेन।

कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। तर वर्षभरिमा ३५ अर्ब ३६ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको छ, जुन लक्ष्यको ८५.५२ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले लक्ष्यको ८०.५१ प्रतिशत राजश्व मात्र संकलन गरेको थियो। त्यसको तुलनामा यस वर्ष असुली दर ५.०१ प्रतिशतले वृद्धि भएको कार्यालयको भनाइ छ।

यद्यपि लक्ष्यभन्दा करिब ६ अर्ब रुपैयाँ कम राजश्व संकलन भएकाले निर्धारित लक्ष्य हासिल हुन सकेन। सरोकारवालाहरूका अनुसार आगामी दिनमा आयात–निर्यात कारोबार विस्तार, व्यापारिक गतिविधि वृद्धि तथा भन्सार प्रशासनलाई थप प्रभावकारी बनाउन सके राजश्व संकलनमा उल्लेखनीय सुधार आउन सक्छ।